तीन दिनमै लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य



बुटवल। सुरु भएको तीन दिनमै लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम शुक्रवार राती १२ बजेदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


फागुन १८ गते बोलाइएको हिउँदे अधिवेशनको पहिलो बैठकमा ५ मिनेट सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुख कार्यालयबाट आएका पत्र पढेर सुनाएर सकिएको थियो । १९ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए भने २१ गतेको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अनुपस्थित भएपछि दलका नेता बोलेर सकिएको थियो ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले पद जोगाउन सदन छलेको अन्य दलहरुले आरोप लगाएका छन् ।