टिआरसी विधेयकमा एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्छः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् ।

शनिबार काठमाडौंमा वीपी स्मृती सामुदायिक सहकारी अस्पतालको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोइरालाले टिआरसी विधेयक पास गराउन एमालेको समर्थनका लागि दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाएको बताएका हुन् ।


कोरालाले प्रधानमन्त्रीले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ८४ को निर्वाचन एक्लै लड्ने प्रस्ताव कारण नभएर भूराजनीतिक खेल भइरहेको दाबी गरे ।

उनले भने, ‘उपसभापतिको प्रतिवेदनमा जनयुद्ध शब्द लेखिएको थियो । त्यसको विरोध प्रचण्डजीले गर्नुभयो । र महामन्त्रीको प्रतिवेदनमा उल्लेख ८४ को चुनाव हामी एक्लैले लड्ने कुराको पनि विरोध गर्नुभयो । महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदन नेपाली कांग्रेसको हो । प्रचण्डजीले कांग्रेसको प्रतिवेदन माओवादीले लेखिदेओस् भन्ठान्नुभएको थियो होला । मलाई लाग्दैन यि कारणले उहाँ कांग्रेस छाडेर एमालेसित जानुभएको हो । टिआरसी विधेयक पास नभए अप्ठ्यारोमा पर्छु भन्ने लागेको हुनसक्छ उहाँलाई ।’

उनले टिआरसी विधेयमा एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्ने बताए । उनले भने, ‘पीडितमैत्री विधेयक बन्नुपर्ने कांग्रेसको मान्यता छ । यी कुरा पूरा नभए जतिसुकै संसदबाट ऐन पास भएर आएपनि त्यो ऐन लागू हुन सक्दैन ।’