जापानी सम्राट नारुहितोले जुनमा बेलायत भ्रमण गर्ने



टोकियो । जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोले आगामी जुन महिनाको अन्त्यतिर करिब एक साताका लागि बेलायतको भ्रमण गर्ने भएका छन् । बेलायती राजा चार्ल्स तृतीयले ‘आफू पनि क्यान्सरसँग लडिरहेको’ बताएको केही सातापछि वेल्सकी राजकुमारी क्याथरिनलाई क्यान्सर भएको शुक्रबार खबर सार्वजनिक भएको थियो ।

सन् २०२२ को सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा भाग लिन बेलायत गएका जापानी शाही दम्पतीको त्यसपछिको यो पहिलो बेलायत भ्रमण हो । राजा चार्ल्सको गद्दी आरोहणपछि यो उनीहरूको दोस्रो अन्तर्राष्ट्रिय सद्भावना भ्रमण हो । उनीहरूले गत वर्ष इन्डोनेसियाको भ्रमण गरेका थिए ।


‘योमिउरी शिम्बुन’ पत्रिकाका अनुसार दुवै देशका सरकारले राजाको उपचार तालिकामा ध्यान दिएर भ्रमणको योजना बनाइरहेका छन् । जिजी प्रेसले पनि भ्रमणको कार्यतालिका ‘सावधानीपूर्वक’ मिलाइएको जनाएको छ।

जापानी शाही दम्पतीले राजकीय अतिथिका रूपमा बेलायतको भ्रमण गर्नुका साथै लण्डनको बकिङ्घम प्यालेसमा आयोजना हुने स्वागत समारोह तथा भोजमा सहभागी हुनेछन् । उनीहरूले विभिन्न समयमा अध्ययन गरेका अक्सफोर्ड विश्वविद्यालयको भ्रमण पनि जापानी सम्राट्को भ्रमण तालिकामा रहने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा जापानी राष्ट्राध्यक्ष नारुहितो र साम्राज्ञी मासाकोले बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नीसँग भेटवार्ता गर्ने र मध्यान्हको भोजमा सरिक हुने बताइएको छ।