जनकपुरधाम । नेकपा एमाले चार मन्त्रालयसहित मधेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्रीको माग गर्दै आएको एमालेले भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, गृह संचार तथा कानुन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा तथा सास्कृतिक मन्त्रालय लिएर आज सरकारमा सहभागी हुन लागेको हो ।
माओवादी केन्द्र मधेश प्रदेशका संसदीय नेता भरतप्रसाद साहले आज एमाले सरकारमा सहभागी हुने सहमति भएको बताए । मुख्यमन्त्री सरोजकुमार यादवका प्रेस संयोजक सीताराम अग्रहरीका अनुसार आज दिउँसो ३ बजेपछि नयाँ मन्त्रीको शपथ ग्रहण हुने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्री यादवले सरकार पुर्नगठन गर्न लागे पनि कांग्रेसका मन्त्रीले अहिलेसम्म सरकार छोडेको छैन । केही दिनअघि मुख्यमन्त्रीले राजीनामा मागेपछि कांग्रेसका मन्त्रीले आफूहरुले राजीनामासँगै विश्वासको मत पनि फिर्ता लिने बताएका थिए । त्यसपछि मुख्यमन्त्री यादवले उनीलाई बर्खास्त नै नगरी एकलौटी सरकार पुर्नगठन गर्न लागेका हुन् ।