गोपाल ढकाल हत्या प्रकरण : सुवालले मागेका थिए २ लाख फिरौती



काठमाडौं । गोपाल ढकाल हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकालको हत्यामा सम्लग्न भक्तपुरका सन्तोष सुवाललाई पक्राउ गरेको हो ।

शनिबार काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका ६ बाट पक्राउ परेका सुवाललाई अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।


ढकाल यहि फागुन १० गते हराएका थिए । ढकाल हराएपछि अपरिचित व्यक्तिले उनकी पत्नी रेनु ढकाललाई फोन गरेर ‘श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख रुपैयाँ लिएर आउनु’ भनि फोन गरेका थिए । त्यसको भोलिपल्ट फागुन ११ गते ढकालको शव सुर्यबिनायक स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो ।

मृतकको मोबाइलसहित पक्राउ परेका सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।