कर्णाली पुल खुल्न अझै तीन दिन लाग्ने



धनगढी । सोमबार साँझ पुलमा आगो लाग्दा सामान्य क्षति भएको कैलालीको चिसापानीस्थित कर्णाली पुल अझै सञ्चालनमा आएको छैन । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुलमा गाडी सञ्चालन गर्न मिल्ने कि नमिल्ने भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।

अहिले सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने गाडीहरु हुलाकी राजमार्ग हुँदै चलिरहेका छन् । सोमबार दिउँसो वीरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रक पुलमाथि रहेका बेला एक्कासी आगलागी भएको थियो ।


ट्रकमा लागेको आगोले पुलका लठ्ठाहरुमा समेत सल्किएपछि सवारीसाधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरिरहेको छ । पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँयातर्फका ७÷७ वटा लठ्ठा जलेको पाइएको बताए ।

उनले पुलको सतह मर्मत गर्नुपर्ने भएकाले कम्तीमा पनि तीन दिनसम्म सवारीसाधन चलाउन नमिल्ने बताए । अहिले पुलको सतहको मर्मतसम्भार गर्ने तर लठ्ठा भने तत्काल मर्मत नहुने अधिकारीले जानकारी दिए ।

ट्रकमा आगलागी हुँदा पुलका फलामे लठ्ठामा पनि आगो सल्किएको थियो । फलामे लठ्ठाको बाहिरपट्टी रबर रहेकाले आगलागी भएको प्राविधिकहरुको भनाइ छ । ट्रकमा आगलागीको कारण भने अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले जानकारी दिए ।