एसइईः गण्डकीका ४० हजार बढी विद्यार्थी सहभागी



गण्डकी । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९, पवर्तबाट दुई हजार २८, म्याग्दीबाट एक हजार नौ सय ३८, मुस्ताङबाट एक सय ८८ र स्याङ्जाबाट चार हजार एक सय २४ विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।


यसैगरी गोरखाका तीन हजार छ सय ६२, लमजुङका दुई हजार छ सय ७९, तनहुँका पाँच हजार चार सय ६२ र नवलपुरका छ हजार एक सय ६५ परीक्षार्थी सहभागी रहेका निर्देशनालयका अधिकृत खेमराज पौडेलले जानकारी दिए । उनका अनुसार परीक्षा सञ्चालनका लागि दुई सय १४ परीक्षा केन्द्र कायम गरिएको छ ।

प्रदेशभरबाट सामुदायिक र संस्थागत गरी कुल एक हजार तीन सय ३२ विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएका पौडेलले जानकारी दिए । उनका अनुसार कुल परीक्षार्थीमध्ये नियमिततर्फका ३९ हजार ४२, प्राविधिक धारका एक हजार तीन सय ९० र ग्रेडवृद्धितर्फका चार सय ८६ रहेका छन् ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन दुई सय १४ केन्द्राध्यक्ष, तीन सय ७२ सहायक केन्द्राध्यक्ष, दुई हजार एक सय ४४ निरीक्षक, पाँच सय १८ परीक्षा सहायकसहित कार्यालय सहयोगी र सुरक्षाकर्मी परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।