काठमाडौँ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाा सरकारमा सहभागी हुने/नहुने विषयमा अनिर्णित भएको छ ।
बुधबार बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरिनसकेको बताएको हो ।
सरकारमा सहभागी हुने/नहुनेमा नेकपा एस अझै अनिर्णित, नेपाल पुगे बालुवाटार, बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा सहभागी हुन पार्टीले केही सर्त अघि सारेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार सरकारले देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, राष्ट्रियताको रक्षा र संवर्द्धन गर्न, भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्न, महँगी नियन्त्रणलगायत जनताका समस्याहरुको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने भएमात्रै एकीकृत समाजवादी सरकारमा सहभागी हुनेछ ।
‘प्रधानमन्त्रीले नयाँ समीकरणको आरम्भ गरेपछि हाम्रो पार्टीसँग नयाँ समीकरणमा सरकारको गठन र सञ्चालन तथा नीति कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) समान सहभागिता र भूमिका रहने प्रस्ताव गर्नुभएको सन्दर्भमा बैठकमा छलफल भयो ।
उक्त प्रस्तावलाई सकारात्मक रुपले लिँदै प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि आवश्यक निर्णय गरिन्छ,’ उनले भने, ‘यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएर वार्ता गर्न पठाएका छौं ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीसँग छलफल गर्न माधवकुमार नेपाल, घनश्याम भुसाल सदस्य बालुवाटार पुगेका छन् ।