उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चलाउनेमाथि आक्रमण गर्ने रविन लामालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले चलाउनेलाई आक्रमण गर्ने लामालाई टोखाबाट पक्राउ गरिएको बताए । यस मुद्दाका अन्य प्रतिवादीहरु पुनरावेदनमा गएको तर लामा पुनरावेदन नगएकाले पक्राउको बाटो खुलेको थियो । सोहीअनुसार लामाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरिएको एसएसपी खत्रीले बताए ।


जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाको इजलासले ७ मंसिर २०८० चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको थियो । नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर भएका थिए ।

उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत भएको थियो । २० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो ।

नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको थियो ।