इजरायल र हमासबीच युद्धविरामका लागि कतारमा वार्ता जारी



हमास र इजरायलबीच गाजा युद्धविराम र बन्धकहरूको आदानप्रदानमा वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले वार्ता ‘जारी’ रहेको उल्लेख गर्दै ‘कुनै पनि टोलीले वार्ताबाट बाहिरिएको भन्ने सोचको विकास नभएको’ बताएका हुन् ।

गाजामा युद्धविराम सुनिश्चित गर्न र इजरायली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूको रिहाईका लागि धेरै सातादेखि पर्दा पछाडि रहेर अमेरिका र इजिप्टसँग मिलेर कतार वार्तामा संलग्न रहेको छ ।


संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार ‘तत्काल युद्धविराम’ को माग गर्दै एउटा प्रस्ताव ग्रहण गरेपछि हमास र इजरायलले कुनै पनि सम्झौता गर्न असफल भएको दोषारोपण लगाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र उनको मन्त्रिपरिषद ‘वार्ताको प्रयास असफल हुनु र अहिलेसम्म कुनै सम्झौता हुनबाट रोक्नका लागि पूर्णरूपमा जिम्मेबार रहेको’ हमासले बताएको छ । जवाफमा नेतान्याहु कार्यालयले सुरक्षा परिषद्को मतदानबाट उत्साहित भएकाले हमासलाई ‘वार्ता जारी राख्न कुनै रुचि नभएको’ आरोप लगाएको छ ।