घोराही (दाङ) । तिलकुमारी पुनले घोराही उपमहानगरपालिका-१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छन् । ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएकी हुन्। चालिस वर्षिया पुनको घरमा बुवा, आमा, दाइ र आफूसहित दुई दिदीबहिनी छन् । आफ्नै खुट्टामा उभिएर स्वरोजगार बन्दै जाँदा बिहे गर्नुपर्छ भन्ने सोचसमेत नआएको उनले बताइन् ।
विसं २०५७ मा पूर्वी रुकुमबाट दाङ बसाइँ सरेका पुनले घोराही-१३ मा सञ्चालन गरेको व्यवसायबाट प्रशस्त आम्दानी गर्दै आएकी छन् । सानै उमेरदेखि अल्लो उद्यममा लागे पनि व्यावसायिकरुपमा विसं २०७३ देखि लागेको पुनले जानकारी दिइन् । उनका अनुसार अहिले उद्योगमा ३५ जना बढी स्थानीय महिलाले रोजगार पाएका छन् ।
उद्योगमा आबद्ध महिला आजभोलि सेवार खोलामा घरेलु प्रविधिबाट प्रशोधन गर्नका लागि जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्नेलगायत काम गर्दै आएका छन् । यी सबै प्रक्रिया पूरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुन्छ ।
उद्योगमा काम गर्दै आएका महिलालाई उद्योगका प्रमुख तिलकुमारीले आठ घण्टा काम गरेबापत दैनिक रू पाँच सय दिने गरेको बताइन्। उनले आवश्यक कच्चापदार्थ दार्चुला, अछाम, बाजुराबाट ल्याउने गरेको उनको भनाइ छ । आफ्नो व्यवसायबाट पूर्ण सन्तुष्टि रहेको बताउँदै उनले वार्षिक रू पाँच लाख आम्दानी गर्दै आएको जानकारी दिइन् ।
अल्लोको कपडामात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी पुनले बताइन् । ‘कपडा तयार गर्न सके थोरै धागोबाट राम्रै आम्दानी हुन्छ’, उनले भनिन्, ‘धागो दाङसहित जिल्ला बाहिर बिक्ने गरेको छ ।’ तयारी कपडा पनि राम्रो बिक्री हुने गरेको भन्दै अल्लोको धागो काठमाडौँ र भारतसम्म पठाउने गरिएको उनले जानकारी दिइन् ।
“पहिले घरधन्दामै दिन बित्थ्यो”, अर्का उद्यमी मनमाया रोकाले भनिन्, “अहिले घरको सबै काम सकेर पनि उद्यमले दिएको रोजगारले राम्रो आम्दानी भइरहेको छ ।” ७० वर्षीया मनमाया आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गर्दै आएको बताइन् । बसेर काम गर्दा धेरै दुःख नहुने उनको अनुभव छ ।
घरमै खाली बसिरहनेभन्दा आफ्नो खर्च आफैँ काम गरेर जुटाउन सफल भएको भन्दै रोकाले खुसी व्यक्त गरिन्। उनका अनुसार उद्योगमा अल्लोबाट कोट, ब्याग, जुत्ता, सललगायत सामग्री पनि उत्पादन हुने गरेको छ ।
अल्लोको धागोलाई सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको अल्लो उद्योगमा काम गर्दै आएका घोराही–१८ का भूमिका रोकाले बताइन् । आजभोलि छोराछोरीको वार्षिक परीक्षा सकिएको हुँदा खाली समयमा यही उद्योगमा काम गर्दै आएको उनको भनाइ छ ।
खाली समयको पनि सदुपयोग हुने र कमाइ हुने हुँदा आफूजस्ता धेरै स्थानीय महिलालाई सहज भएको रोकाले बताइन् । उनका अनुसार देशका विभिन्न सहरमा सञ्चालन हुने मेला महोत्सवमा प्रदर्शनीका लागि पनि यहाँका उद्यमीले अल्लोका कपडा लैजाने गर्छन् ।
उद्योगमार्फत अन्य दिदीबहिनीलाई पनि खाली समयको सदुपयोग गर्दै स्वरोजगारमा जोड्न पाएका पुनको भनाइ छ । उद्योगमा काम गर्दा आर्थिक आम्दानी हुनुका साथै खाली समयको समेत सदुपयोग भइरहेको उद्योगमा सहभागी महिलाको भनाइ छ ।
अर्काको देशमा दुःख पाउनुभन्दा स्वदेशमा स्वरोजगार बन्न आवश्यक रहेको पुनले बताइन् । महिलालाई स्वरोजगार बनाउन स्थानीय सरकारले विशेष योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिइन् ।