अप्रेसन ‘क्लाउड’ : सीमा क्षेत्रमा अनलाइनमार्फत ठगी धन्दा चलाउने चिनियाँ गिरोह पक्राउ



वीरगञ्ज । वीरगञ्जलाई आधार बनाई अनलाईनमार्फत ठगी गरेको अभियोगमा ३ जना चिनियाँ नागरिकहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरको विभिन्न ठाउँमा सर्च अप्रेसन चलाएर शनिबार साँझ प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्यहरुलाई पक्राउ गरेको हाे ।


अनलाईन लटरी, सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारण नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले निगरानी गर्ने क्रममा उनीहरूलाई पर्साका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पर्साका एसपी कुमोद ढुंगेलका अनुसार विभिन्न आवरणमा उनीहरु यस्तो धन्दामा संलग्न थिए ।

वीरगंज महानगरपालिका–१५ स्थित उनीहरूले भाडामा लिएको घरबाट ठुलो परिमाणमा विद्युतीय उपकरण, डेक्सटप कम्प्युटर, ल्यापटप, मोबाइल फोन, सीमकार्डहरू तथा विभिन्न देशका मुद्रासमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरूको साथबाट कम्प्युटर डेक्सटप सीपीयू १ सय २० थान, मनिटर ११८ थान, पासपोर्ट ३ थान, मोबाईल ३५ थान, भारतीय सीमकार्ड १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान बरामद भएको छ ।

यसैगरी विभिन्न बैंकका एटीएम कार्ड ३ थान, किबोर्ड २३ थान, इन्टरनेट स्विच ५ थान, वाइफाइ राउटर २ थान, मिनी इन्भर्टर २ थान बरामद भएको छ ।

यसैगरी भारतीय नम्बर बीआर ०१ सीएक्स ५७९२ नम्बरको आई २० गाडी, प्र.२–०३–०११ प १३६७ नम्बरको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।