अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनु जरुरी : उपप्रधानमन्त्री यादव



धनुषा । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शोषित, पीडित वर्गको अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनुको विकल्प नरहेको बताएका छन् । 

आज जनकपुरधाममा पिछडा वर्ग महासङ्घ नेपालद्वारा आयोजित दुई दिवसीय प्रशिक्षणको समापन समारोहमा उहाँले पिछडा वर्ग बहुसङ्ख्यक भए पनि सङ्गठित हुन नसक्दा उचित अधिकार, प्रतिनिधित्व  र सम्मान पाउन नसकेको बताए ।


वर्तमान युगमा सङ्गठन नै शक्ति रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले पिछडा वर्गहरूलाई सङ्गठित भएर अघि बढ्न आग्रह पनि गरेका छन् । पिछडा वर्गमा शिक्षाको अभाव देखिएको बताउँदै जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका अध्यक्ष यादवले आफ्ना सन्तानको शिक्षामा जोड दिन अपिल गरेका छन् ।

पिछडा वर्ग महासङ्घका अध्यक्ष भरत महतोको अध्यक्षतामा दुई दिनसम्म चलेको प्रशिक्षणमा मुलुकका विभिन्न क्षेत्रबाट आएका एक सय जनाभन्दा बढीको प्रशिक्षार्थी सहभागी थिए । कार्यक्रममा प्रमुख प्रशिक्षक अध्यक्ष यादवका साथै सिपी सिंह, मनाइ महतो, दीपेन्द्र कापरलगायत थिए ।