स्टन्ट गर्नेहरूलाई चरित्रको सर्टिफिकेट दिइराख्नु पर्दैन : विनोद चौधरी



काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा बिहीबार बिहान सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद चौधरीले स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने बताए ।


‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ । ४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’

उनले एउटा उद्यमीको हैसियतले आफूले जहिले पनि विकासको राजनीति गरेको भन्दै कुनै प्रकारका दलहरूका मतभेदमा सरिक नभएको दाबी समेत गरे । तर उनले पछिल्लो समय एउटा उद्यमीलाई राजनीतिकरण गरेको भन्दै कठिन परिस्थितमा आफूजत्तिको मानिसले उभिएर अर्थतन्त्रको कुरा गर्दा रोजगार दाताहरूले हेक्का राख्न सक्नुपर्ने बताए ।