काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । शनिबार बसेको संसदीय दलको बैठकका प्रधानमन्त्रीले यसबारे जानकारी गराएका हुन् । प्रतिनिधिसभाको बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्नेछ ।
सोही दिन नै विश्वासको मत लिने तयारी भएको प्रधानमन्त्रीले सांसदहरुलाई जानकारी गराएका छन् । त्यस्तै बैठकले विश्वासको मत लिने दिन र राष्ट्रिय सभा अध्यक्षको मतदानको दिन आफ्नो दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गर्ने निर्णय गरेको छ ।
बैठकले यही फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि निर्देशन जारी गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
त्यस्तै, बैठकमा यही फागुन १४ गते प्रस्तुत भएको आउँदो आर्थिक वर्षको प्रि–बजेटको सन्दर्भमा आवश्यक छलफल र परिमार्जन आवश्यक रहेको भन्दै बजेटको प्रभावकारिताका विषयमा विचार राख्ने निर्णय भएको पाण्डेले बताए । बैठकमा प्रधानमन्त्री दाहालले सरकारले थालेको सुशासन र समृद्धिको अभियान अगाडि बढाउन अन्य दलहरुसँग सहयोग र सहकार्य गर्नेबारेमा छलफल गरेको पाण्डेले उल्लेख गरे ।