प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न आजपाले बोलायो बैठक 



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने की नदिने भन्ने बारेमा निर्णय गर्न आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक  बुधबार बिहान बस्ने भएको छ । 

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाइएको आजपाका स्थायी कमिटी सदस्य बालकृष्ण सापकोटाले बताए ।


प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले बुधबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । आजपाले विश्वासको मत दिने की नदिने भन्ने बारेमा पदाधिकारी बैठकबाट निर्णय गर्दै छ । 

आजपा अध्यक्ष एवं सांसद प्रभु साहले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने की नदिने भन्ने बारेमा पार्टीका नेताहरूसँग आन्तरिक छलफलमै रहेका छन् । 

पछिल्लो समय आजपाले उठाउँदै आएको मागको बारेमा सरकारको धारणा के छ भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवाज समेत पार्टीमा उठ्दै आएको छ ।