नवनियुक्त १६ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ



काठमाडौँ । नवनियुक्त १६ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा तीन जना उपप्रधानमन्त्रीसहित १६ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

नेकपा एमालेबाट उपप्रधानसहित ८ जना, माओवादी केन्द्रबाट उपप्रधानसहित ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित ४ जना र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन् ।


पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती, रक्षा, भगवती चौधरी, महिला बालबालिका, राजेन्द्र राई, खानेपानी, दामोदर भण्डारी, उद्योग, ज्वालाकुमारी साह, कृषि, बलराम अधिकारी, भूमि व्यवस्था नियुक्त भएका छन्  ।

त्यस्तै माओवादीबाट नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन, अर्थ, शक्ति बस्नेत, उर्जा, रेखा शर्मा, सञ्चार, हितबहादुर तामाङ, पर्यटनमन्त्रीमा नियुक्त भएका छन्  । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, उपप्रधान तथा गृह, डीपी अर्याल, श्रम, विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद र सुमना श्रेष्ठ, शिक्षामन्त्री नियुक्त भएका छन्  । एकीकृत समाजवादीबाट भानुभक्त जोशी, संघीय मामिला तथा समान्य प्रशासन र धनबहादुर बुढा, सहरी विकास मन्त्री नियुक्त भएका छन् ।

कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमाले, रास्वापसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।