दार्चुलामा भिरबाट लडेर एक प्रहरी जवानको मृत्यु



दार्चुला । दार्चुलामा भिरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । आज बिहान ११ः ३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो ।

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुवँरलाई अस्पताल लैजान खोज्दा हतकडीसहित भागेपछि चौधरीले उनलाई समात्न खोज्दा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो ।


हिरासतमा रहेका कुवँर हतकडीसहित महाकाली नदि पारगरी भारततर्फ फरार भएका छन् । कुवँरलाई महाकाली नदि पारी पट्टि भारतमा रहेको (जीआर)ले नियन्त्रणमा लिएको र अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलामा पुगेको खबर प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हिरासतमा रहेका कुवर यसअघि माघ ७ गते दुईजना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए । फरार रहेका कुँवरलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।