काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्ने रहेको बताए । उनले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको दाबी गरे ।

“अहिले पनि संसद्मा कुनै दलको बहुमत छैन, यही प्रणाली हुँदा भोलि पनि कुनै दलको बहुमत हुँदैन । यसले नेताहरुको स्वार्थमा संसद् र सरकार बन्धक बनाउँछ । जनताको आवश्यकता र अपेक्षाको सम्बोधन हुनुपर्छ । राजनीतिलाई दूषित हुनबाट बचाउन निर्वाचन प्रणालीलाई बदल्नुपर्छ,” महामन्त्री थापाले भने ।


मिश्रित निर्वाचन प्रणाली विकृत भएको र त्यसबाट नेताहरूलाई सत्तामा पुग्न सहज हुँदा शक्तिको दुरुपयोग हुने गरेका महामन्त्री थापाको आरोप छ । प्रणाली ठीक नहुँदा देश विकासको गति ठप्प प्रायः भएको बताउँदै उनले सङ्घीय प्रणालीलाई ठीक ढङ्गले उपयोग गर्दै नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई दिइएको जिम्मेवारीअनुसार सेवा प्रवाह हुनुपर्ने बताए ।