उपनिर्वाचनमा एमालेले सुखद परिणाम ल्याउने ओलीको दाबी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले गत निर्वाचनमा एमालेले आफूविरुद्धको खतरनाक गठबन्धनका कारण पराजयको सामना गर्नुपरेको उल्लेख गर्दै आसन्न उपनिर्वाचनमा सुखद परिणाम ल्याउने दाबी गरेका छन् ।

शनिबार एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा बझाङ प्रदेश सभा–१ को उपनिर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै उनले गत निर्वाचनमा सबै दल एकातिर र केही नेताले पार्टी फुटाएकै कारण केही ठाउँमा कमजोर नतिजा आएको उल्लेख गरे । यसपटकको उपनिर्वाचनमा हार्न नमिल्ने पनि उनले बताए ।


उनले भने, ‘गत निर्वाचनमा सबै पार्टी एकातिर र नेकपा एमाले एकातिर, त्यस्तो अवस्थाकोे सामना गर्नुपर्दा पराजयको पीडा व्यहोर्नुपरेको थियो । तर यसपटक हामी सुखद परिणाम गर्न चाहन्छौं । यसपल्ट हामी हार्दैनौ, हार्न मिल्दैन । गत वर्षको निर्वाचनमा नेकपा एमालेकै हस्ती भनिएका नेताहरु पार्टी फुटाएर गएका थिए । एमाले त शून्य सिटमा झर्छ समेत भनेका थिए ।’

पार्टीविरुद्धको चर्को गठबन्धनका बाबजुद एमाले लोकप्रिय पार्टी हुँदै आफ्नो साख कायम राखेको अध्यक्ष ओलीको भनाइ छ । गत वर्षको निर्वाचनमा गठबन्धन गरेकै कारण गणितीय हिसाबले अन्य दलहरु केही सिट अगाडि गए पनि खराब नेताहरु पार्टीबाट निस्किनु नै उपलब्धी भएको ओलीले बताए ।