उद्योगमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्रीबीच भेट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबिच दुई पक्षीय हितका विषयमा काठमाडौँमा आज भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बङ्गलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बङ्गलादेश हुने निर्यातको मात्रा भने न्यून नै रही आएकामा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराए । उनले अन्तर्राष्ट्रिय व्यापारमा दुई मुलुक बिचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिए ।


बङ्गलादेश नेपालको महत्त्वपूर्ण व्यापार साझेदारका रूपमा रही आएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नुपर्नेमा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराए ।

दूध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडीबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन्न वस्तुका लागि बङ्गलादेश नेपालको सम्भाव्य बजारका रुपमा रहेकाले उच्च भन्सार महसुल तथा गैर भन्सारजन्य अवरोधका कारणले नेपाली उत्पादनले बङ्गलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न नसकेकाले त्यसको पहल कदमीका लागि मन्त्री भण्डारीले आग्रह गरे ।

सन् २०१० देखि दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता सम्बन्धमा वार्ता भइरहेको स्मरण गराउँदै भेटका क्रममा मन्त्री भण्डारीले दुवै देशको आर्थिक हितलाई महत्त्वपूर्ण रुपमा प्रवर्द्धन गर्ने गरी यस सम्झौतालाई अन्तिम रुप दिन दुवै पक्षले आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालको तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्गलापोर्ट प्रयोग गर्ने पारवहन सुविधा प्रदान गरेकामा बङ्गलादेश सरकारलाई धन्यवाद दिँदै उनले सामुद्रिक बन्दरगाहको उपयोगमार्फत पारवहन सम्बन्धलाई सुदृढ बनाउन रोहनपुर–सिंहवाद रेलवे र अन्य पारवहन रुटको सञ्चालनका लागि मन्त्री चौधरी सित उहाँले आग्रह गरे ।

मन्त्री भण्डारीले नेपाल–बङ्गलादेश व्यापारका लागि काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध रूट प्रयोग हुँदै आइरहेका र नेपाली ट्रकले भारतको फुलबारी भन्सार विन्दुबाट मात्र बङ्गलादेशबाट आयात भएका वस्तु ल्याइरहेकाले त्यसले पारवहन लागत बढ्न गएकामा ध्यानाकर्षण गराए ।  

विगतमा भएका वाणिज्य सचिव स्तरीय बैठकमा नेपालले बंगलादेशका जलमार्ग उपयोग गर्ने सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको स्मरण गराउँदै मन्त्री भण्डारी भने, ‘नेपाल र भारतबीचको पारवहन सन्धिले अन्तरदेशिय जलमार्गमा पहुँचको व्यवस्था गरेको छ, जलमार्ग सम्बन्धमा नेपालको प्रस्ताव उपर भएको प्रगति र यसलाई नेपालले उपयोग गर्ने सम्भावना सम्बन्धमा बंगलादेशको धारणाको अपेक्षा गरेको छु ।’

भारतीय प्रसारण लाइनमार्फत नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार गर्न भारतीय पक्ष सहमत भएको विषय दुवै पक्षका लागि सुखद रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा बंगलादेशको लगानी सुनिश्चित गर्न आग्रह गरे ।

साथै उनले राज्यमन्त्री चौधरीलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक क्रियाकलाप, जैविक विविधताका दृष्टिले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको जानकारी गराउँदै बङ्गलादेशी पर्यटक नेपाल आउनेमा आशा व्यक्त गरे ।

अति कम विकसित मुलुकका रुपमा समेत सहयोगको विस्तार गर्दै संयुक्त रुपमा आवाज उठाउने एवं संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा उम्मेदवारी लगायतका विषयमा समेत दुई देशबीच सहयोग आदान प्रदान हुँदै आएको स्मरण गराउँदै मन्त्री भण्डारीले यस किसिमको सहयोग अझ विस्तार हुनेमा जोड दिए ।

भेटका क्रममा बंगलादेशका राज्यमन्त्री चौधरीले मन्त्री भण्डारीले राखेका कुरा अत्यन्त सकारात्मक र सान्दर्भिक रहेको उल्लेख गर्दै बङ्गलादेश फर्केर आफुले सो विषयमा प्रधामन्त्रीको ध्यानाकर्षण गराउने बताए । 

उनले नेपाल र बंगलादेशको निजी क्षेत्रलाई जोड्नुपर्नेमा जोड दिए । राज्यमन्त्री चौधरीले अप्रिलमा हुने दुई देशका सचिव र सहसचिव स्तरीय बैठकमा व्यापारमा देखापरेका समस्या समाधान गर्नुपर्ने बताए ।