इलाम-२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस



काठमाडौं । इलाम क्षेत्र २ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ । कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले आगामी बैशाख १५ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन्। उपसभापति खगेन्द्र देवानले ती नामलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने बताए । प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ । त्यसपछि केन्द्रले एक जनालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने छ ।