काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएकोले देशमा असन्तुष्टि बढेको बताएका छन् ।
मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको बताउदै सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन् ।
ओलीले भने- ‘यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ । अराजकतातिर जाँदो छ । जनतामा असन्तुष्टि बढदो छ। असन्तुष्टिले आक्रोशको रुप लिइराखेको छ ।’
उनले सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको दाबी गर्दै सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क गरेका थिए ।
उनले भने, ‘अहिले कस्तो गठबन्धन छ–तपाई हामी सबैलाई थाहा छ । गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर यस्तो गठबन्धन छ । विकासप्रति चासो नै छैन। चालु भएका आयोजनाहरु बन्द भएका छन् । थप कुनै योजना, आयोजनाहरु छैनन् । यो गठबन्धन, अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको बिरोध हो । एमालेलाई अघि बढ्न नदिनु हो। एमालेलाई बदनाम गर्नु हो ।’
अध्यक्ष ओलीले सरकारसँग विकासका एजेण्डानै नभएको बताउदै किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना नभएको उल्लेख गरे ।
उनले भने- सरकारसँग विकासको एजेण्डा छैन, सुशासनको एजेण्डा छैन । भ्रष्टाचार रोक्ने एजेण्डा छैन। किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना नै छैन ।’