संसद र समितिलाई अवज्ञा गर्ने मन्त्रीलाई बर्खास्त गर्ने विधि बसाल्नुपर्छः खिमलाल देवकोटा



काठमाडौं । राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटाले संसद र संसदीय समितिलाई अवज्ञा गर्ने मन्त्रीहरूलाई बर्खास्त गर्ने विधि बसाल्नुपर्ने बताएका छन् । बिहीबारको बैठकमा सांसद देवकोटाले संसद र संसदीय समितिलाई अवज्ञा गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘संसद र समितिलाई अवज्ञा गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्ने विधि बसाल्नुपर्छ । तर, यसका लागि ‘फ्याक्ट एन्ड फिगर’ रिसर्च हुनु जरुरी छ ।’


उनले प्रतिनिधिसभामा भएको प्रतिपक्ष र सत्तापक्षको जुधाइको चेपुवामा राष्ट्रियसभा पर्न दिन नहुने बताए । उनले भने, ‘प्रतिनिधिसभाको रिसले राष्ट्रियसभाको खाँबो चिथोर्ने काम बेलाबेलामा हुने गरेको छ । त्यो हुनु भएन ।’ बजेट निर्माणमा संसद पूर्णस्वायत्त नभएको भन्दै यसका लागि आवश्यक कानुन र नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ ।

बैठकमा सांसद कृष्णकुमार श्रेष्ठले नेपालको फलाम उद्योगमा काम गर्न कामदार छिमेकी देश भारतबाट ल्याउने र ती मजदुरको ज्यान जोखिममा राखेर काममा लगाउने विषय गम्भीर रहेको बताए । उनले विदेशी भएकै कारण ती मजदुरको ज्यानमाथि खेलवाड गरेको हुनसक्ने आशङ्का व्यक्त गरे ।

संसद श्रेष्ठले भारतीय मजदुरको दुर्घटना भएमा रक्सौलमा लगेर उपचार गराउने र मृत्यु भएपछि थोरै रकम भुक्तानी गरेर मजदुरको अधिकार हनन् गरेको बताए । सांसद डोलप्रसाद अर्यालले नेपालमा सञ्चालित फलाम उद्योगले विदेशी कामदारमाथि गरेको अन्यायबारे सरकार गम्भीर हुनुपर्ने बताए । उनले कुनै पनि देशको नागरिक भए पनि मानिसको ज्यानसँग खेलवाड गर्न नहुने विचार व्यक्त गरे ।