रुसद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई ‘वान्टेड’ घोषणा



सोभियत युगको युद्ध स्मारकहरू ध्वस्त पार्ने कथित संलग्नतामा रुसले इस्टोनियाली नेता काजा कालास र अन्य धेरै युरोपेली अधिकारीहरूलाई ‘वान्टेड’ घोषणा गरेको छ ।

केही लाल सेनाको स्मृतिमा समेत रहेका स्मारकहरू लामो समयदेखि इस्टोनिया, लाटभिया र लिथुआनियामा विवादास्पद थिए । धेरैले ती स्मारकलाई सोभियत कब्जामा रहेको आफ्नो समयको प्रतीकका रूपमा हेरेका थिए ।


सन् २०२२ मा युक्रेनमा रुसको पूर्णस्तरको आक्रमणको जवाफमा तीन बाल्टिक राज्यले ती स्मारकमध्ये केहीलाई हटाउन र ध्वस्त गर्न थालेपछि मस्कोमा आक्रोश बढेको थियो । रुसले ‘सोभियत सैनिकहरूको स्मारकहरू विनाश’ को जवाफमा धेरै मानिसलाई आफ्नो वान्टेड सूचीमा सामेल गरेको बताएको छ ।

नाजीवाद र फासीवादबाट विश्वको मुक्तिदाताहरूको स्मृतिविरुद्धको अपराधलाई सजाय दिनुपर्छ र यो सुरुवात मात्र भएको विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोभले बताएका छन् । वान्टेड घोषणा गरिएका व्यक्तिहरूले ‘ऐतिहासिक स्मृति’ र रुसविरुद्ध शत्रुतापूर्ण कारवाही गरेको क्रेमलिनले बताएको छ ।