माल्दिभ्समा चिनियाँ पानीजहाज आउने विषयलाई लिएर भारत र चीनबीच तनाव



बीबीसी । अनुसन्धानमा प्रयोग गरिएको एउटा चिनियाँ पानीजहाज यसै साता माल्दिभ्स पुग्ने कुराले बेइजिङ, दिल्ली र मालेबीचको तनाव चुलिएको छ । ’शियाङ याङ हङ ३’ नामक उक्त पानीजहाज माल्दिभ्सको ‘बन्दरगाहमा छोटो विश्रामका लागि’ आउन लागेको र त्यस क्रममा ‘कर्मचारीहरू अदलीबदली हुने र जहाजलाई आवश्यक सामान परिपूर्ति’ गरिने जानकारी औपचारिक रूपमा दिइएको छ । तर दिल्लीमा यो विषयलाई त्यसरी लिइएको छैन। बरु पानीजहाजको उपस्थितिलाई कूटनीतिक अपमानको रूपमा हेरिएको छ।

कतिपयले उक्त पानीजहाज डेटा सङ्कलन गर्ने चिनियाँ अभियानअन्तर्गत आउन लागेको हो कि भन्ने आशङ्का गरेका छन्। त्यस्ता डेटा भविष्यमा चिनियाँ सेनाले पनडुब्बी प्रयोग गरेर गर्ने कारबाहीमा उपयोग हुन सक्ने उनीहरूको डर छ। तर चिनियाँ विज्ञहरूले त्यस्तो आशङ्काको खण्डन गरेका छन् ।


भारत र चीनबीच हिन्द महासागरमा प्रभाव विस्तार गर्ने प्रतिस्पर्धा देखिएको छ। भारत र चीनबीच हिमालय क्षेत्रमा लामो समयदेखि सीमा विवाद चलिरहेको छ । चीनले भारतीय जलक्षेत्रनजिकै आफ्नो पानीजहाज पठाएको यो पहिलो घटना भने होइन।

चिनियाँ जलसेनाका दुइटा पनडुब्बी सन् २०१४ मा कोलम्बोस्थित बन्दरगाहमा रोकिएका थिए। विगत दुई वर्षमा चीनका दुइटा अनुसन्धान पानीजहाजले दक्षिण भारतनजिकै श्रीलङ्का पुगेका थिए ।

कोलम्बोलाई अर्बौँ डलर ऋण दिएर चीनले त्यहाँ आफ्नो प्रभाव विस्तार गरेको ठानिएका बेला चिनियाँ पानीजहाज श्रीलङ्का पुगेका थिए । माल्दिभ्सतिर जानुअघि शियाङ याङ हङ ३ ले सुरुमा कोलम्बोमा रोकेर पानीजहाजलाई आवश्यक सामाजन परिपूर्ति गर्ने योजना बनाएको थियो। तर श्रीलङ्काका विदेशराज्यमन्त्री तारक बलसूर्यले उक्त योजना अहिलेका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

चिनियाँ अनुसन्धानमूलक पानीजहाजहरूको आवागमनप्रति भारतको गम्भीर आपत्तिका कारण तिनलाई रोक्न कोलम्बोले त्यस्तो निर्णय गरेको ठानिएको छ। तर भारतको आपत्तिले माल्दिभ्समा खासै प्रभाव परेको छैन।

झन्डै १२ सय वटा टापुहरू रहेको माल्दिभ्स हिन्द महासागरको बीचतिर अवस्थित छ। लामो समयदेखि उक्त देशमा भारतको प्रभाव रहिआएको छ। तर गत नोभेम्बरमा राष्ट्रपति निर्वाचित भएका मोहम्मद मुइज्जु यसमा परिवर्तन ल्याउन चाहन्छन्। उनलाई चीनसँग निकट मानिन्छ।

‘इन्डिया आउट’ अर्थात् ‘भारतको बहिर्गमन’ लाई चुनावी नारा बनाएका उनले उक्त माल्दिभ्समा तैनाथ करिब ८० भारतीय सैनिकलाई देश छाड्न भनेका छन्। भारतले ती सैनिकहरू त्यहाँ दिल्लीले उपलब्ध गराएका तीनवटा सर्वेक्षण तथा उद्धार वायुयानको सञ्चालन र मर्मतका लागि खटिएको बताएको छ।