काठमाडौं । रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवस मनाउन मातहतका सरकारी कार्यालयहरुमा विदा दिएको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार आगामी फागुन १ गते जनयुद्ध दिवस बनाउन विदा दिइएको हो ।
‘माडी गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०५०।१०।१७ गतेको निर्णयानुसार “जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मंगलबारका दिन माडि गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’– प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले जारी गरेको सूचनामा भनिएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषद्बाट निर्णय गराएर जनयुद्ध दिवसको विदा स्वीकृत गराएका थिए । मन्त्रिपरिषद्को उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले जनयुद्ध दिवसमा विदा दिन मन्त्रिषरिषद्को निर्णय खारेज गरेको थियो । तर, माडी गाउँपालिकाले भने गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गराएर विदा दिएको हो ।