भिजिट भिसा प्रकरण : ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध आज मुद्दा दर्ता हुँदै



काठमाडौं । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो ।


जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भिजिट भिसा प्रकरणको अभियोजन गर्ने अन्तिम तयारी गरेको छ । हिजो सो प्रकरणको अनुसन्धान भएको ६० दिन पुगेपनि उच्च अदालत पाटन मातहतका अदालतहरुमा शोक विदा दिइएका कारण आज मुद्दा दर्ता गर्न लागिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन माघ १४ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र नक्कली कागजातमा विदेश जान खोज्ने मानिसलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो ।