बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको पत्राचार



काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाइएको हो ।

प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।


‘हामीले १५ दिनको समय दिएर पत्र पठाएका छौँ । यस अवधिमा कर तिर्नु भएन भने काठमाडौँ महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारवाही हुनेछ ।’ काफ्लेले भने, ‘यसमा आपतकालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकी सरह असुल गर्नेसम्मका व्यवस्था छन् ।’