न्याय नपाएसम्म घर नर्फकने मिटरब्याज पीडितहरुको  अडान



काठमाडौं । मिटरब्याज पीडितहरुले माग पूरा नभई काठमाडौंबाट घर नफर्किने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनीहरुले आफूहरु न्यायका लागि काठमाडौं आएकाले न्याय नपाएसम्म नफर्किने बताएका हुन् ।

सक्षात्कारमा सहकारी बचतकर्ता संरक्षणा राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारी पीडितहरुको पक्षमा आफूहरुले ६३ दिन आन्दोलन गरेको बताए । आन्दोलनका क्रममै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ प्रदर्शनस्थलमै आएरपश्चात सात बुँदे सहमति भएको बताए । त्यसपछि आफूहरुले प्रतिवेदन सरकारलाई बुझाएको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी पीडितहरुको बचत रकम चैत मसान्तभित्रै फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म कुनै कामको सुरुवात नै नभएको बताए ।


आफूहरुले सरकार जवाफदेही बनोस्, आफूहरु अराजक बन्न नपरोस भनेर गत माघ २५ गते प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम राखेर प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालयलगायतको प्रतिनिधिको उपस्थितिका लागि पत्राचार गरेपनि कोही जवाफदेही नभएको बताए । उनले अहिले आफूहरुलाई देशभरबाट १४ लाख पीडितहरुले समर्थन गरिरहेको बताए । सहकारी पीडितहरुको पीडा अब विष्फोट हुने अवस्थामा पुगिसकेको उनको भनाइ छ ।

उनले सरकारले अब पनि नसुनेको खण्डमा चुपचाप नबस्ने बताए । उनले भने, ‘हामीलाई अहिले देशभरीबाट १४ लाखले समर्थन गर्नुभएको छ । ७४ लाख बचतकर्ता पीडितको यो पीडा अब विष्पोट हुने बेला भइसकेको छ । यदि सरकारले समयमा नसुनेको खण्डमा अब भने हामी चुपचाप बस्दैनौं । हामी ज्यानको बाजी लगाउन किन नपरोस् ।’

मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरु विगत ३ वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । मिटरब्याजपीडितहरु लाखौंको संख्यामा रहेको र उनीहरुले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानविनका लागि बनेको आयोगको म्याद सकिएको बताए ।

सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, निषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने उनको माग छ ।

त्यसैगरी पीडकहरुले घटाएको हिंसा, हत्या, बलात्कारलगायतका घटनाहरु छानविन गरी उचित दण्ड सजायको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । साथै, मिटरब्याज पीडितलाई सरकारले सहुलियत ऋण दिनुपर्ने उनको भनाइ छ । आफूहरु न्याय पाएको अनुभूति भएपछिमात्रै आन्दोलनबाट घर फिर्ता हुने उनले बताए ।

मिटरब्याज पीडित रीता शर्माले आफूले ८० हजार ऋण लिएकोमा साहुकारले चार गुणा बढाएर कागज गराएको बताइन् । अर्की पीडित शिलादेवी ठाकुरले आफूले पटक–पटक गरी तीन लाख ऋण लिएकोमा ३०औं लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताइन् ।