काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको संलग्नतामा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो । प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो ।
४१ वर्षीय पुरुषलाई उनकी श्रीमतीले कलेजो प्रदान गरेकी थिइन् । नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण भएकोमा प्रधानमन्त्रीले बधाई दिएका छन् ।
उनले भनेका छन्, मलाई गर्व र खुसी छ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीबाट कलेजो प्रत्यारोपणको काम सम्पन्न भएको छ । प्रत्यारोपणमा सहभागी विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारीसहितको शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङ टिम लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’