काठमाडौँ । निर्माणाधीन नागढुंगा सुरूङ फागुन २३ गते ‘ब्रेक–थ्रु’ हुने भएको छ । आयोजनाले आगामी फागुन २३ गते मुख्य सुरूङ ब्रेक–थ्रु हुने मिति तय भइसकेको जनाएको छ।
मंगलबार (आज) राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापतिसहित सदस्यहरूले सुरूङ अनुगमन गरेका थिए । अनुगमनका क्रममा समिति सभापति प्रकाश पन्थले आयोजनाको काम के कसरी अघि बढिरहेको छ भनेर अनुगमन गरिएको बताए ।
आयोजनाको मुख्य सुरूङ फागुन २३ गते ब्रेक–थ्रु भएपनि सवारी आवतजावत गर्न मिल्ने गरी काम सकिने थप एक वर्ष लाग्ने आयोजनाको जापानी परामर्शदाता कम्पनी निपोनका संयोजक रमेश कोइरालाले बताए ।
मुख्य सुरूङ निर्माण गएको असारसम्म सक्ने योजना थियो तर असारमा त्यसपछि डिसेम्बर अन्तिमसम्ममा सक्ने योजना थियो । तर कोभिड महामारी तथा स्थानीय विवाद हुँदा केही दिन काम हुन नसकेपछि केही ढिलाइ भएको आयोजनाको भनाइ छ ।
यसअघि सुरूङ निर्माणमा पटक–पटक भौगर्भिक समस्या देखिएका कारण पनि निर्माणमा ढिलाई भएको आयोजनाले बताएको छ । निर्माणका क्रममा सुरूङभित्र डिफर्मेसन समस्या देखिएको थियो । बीचमा केही विवादका कारण पनि निर्माणमा अवरोध पुगेको थियो ।