नवलपरासीमा हजुरबा र नातिको हत्या



काठमाडौं । नवलपरासी पश्चिमको सुस्तामा हजुरबा र नातिको हत्या भएको छ । सुस्ता गाउँपालिका–३ मर्चहवा निवासी ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाती गौचरण चमारको गएराति हत्या भएको हो ।

मंगलबार बिहान उनीहरुको शव घरदेखि झण्डै पाँचसय मिटर दक्षिणमा खेतबारीको बाली रुँघ्न बनाइएको छाप्रो बाहिर फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।


घटनाका विषयमा तालिमप्राप्त कुकुरसहित अनुसन्धान थालिएको डीएसपी रेशम बोहोराले जानकारी दिए । हजुरबा र नातीको हत्या भएको निष्कर्षमा प्रहरी पुगे पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरिएको छैन ।

मृतक चमारका एक छोरा, बुहारी र तिन जना नातिनातिना थिए । एक नातिसहित घरमा बस्दै आएका यक्षलालका छोरा कामको शिलशिलामा भारतमा बस्दै आएको खुलेको डीएसपी बोहोराले बताए । उनकी बुहारी भने एक छोरा र एक छोरीलाई लिएर एक महिनाअघि नै माइत (भारत) गएको स्थानीयले बताएका छन् ।