थारु ‘होमस्टे’मा परम्परागत बयलगाडा सफारी



उदयपुर (गाईघाट) । उदयपुरको त्रियुगा नगरपालिका–१३ बेहडवाको थारु होमस्टे सञ्चालनसँगै थारु संस्कृतिको जगेर्ना गर्न आगन्तुक पर्यटकलाई सेवा प्रदान गर्न बलयगाडा सफारी सुरु गरेका छन् ।

बहेडवा थारु होमस्टेमा आउने आगन्तुकलाई लिन जान र वरपर भ्रमण गराएर थारु संस्कृतिको जगेर्ना गर्नका लागि पहिलो पटक बयलगाडा सफारी सुरु गरिएको थारु घरबास सञ्चालक उतीमलाल चौधरीले बताएका छन् ।


होमस्टेदेखि केही परसम्म आगन्तुकलाई लिन जान र होमस्टेमा बास बस्नेलाई बेहडवा क्षेत्रको भ्रमण तथा अवलोकन गराउन पहिलो पटक बयलगाडा सफारी सेवा सञ्चालन गरिएको र यसले पर्यटकलाई पनि मनोरञ्जन दिने र लोप हुँदै गएको बयलगाडा सफारी संस्कृतिको पनि जगेर्ना हुने अर्का घरबास सञ्चालक दीर्घलाल चौधरी बताउँछन् ।

उनी भन्छन्, ‘घरबास सञ्चालनमा आन्तरिक पर्यटन प्रवद्र्धनका साथै हामी थारु समुदायको संस्कृति वेषभूषा संरक्षण गर्न हाम्रो परम्परागत बयलगाडा सफारी लोप हुँदै गएकाले यसको संरक्षण र छुट्टै थारु विशेषताअनुसार बयलगाडा सफारी सञ्चालन सुरु गरेका हौँ ।’

स्थानीय नन्दलाल चौधरीका अनुसार २० देखि ३० वर्ष अगाडिसम्म मालसमान र खेतबारीबाट अन्नपात ढुवानी गर्न बयलगाडा प्रयोग हुनेगरेको थियो । अहिले यातायातका साधानको विकासले बयलगाडा लोप भएका हुन् ।

त्रियुगा नगरपालिकाको बेहडा थारु होमस्टे जिल्लाकै उत्कृष्ट होमस्टे मानिएको छ । यहाँ नेपालको अधिकांश सबै प्रदेशबाट पर्यटक आउने गरेका र भारतको सिक्किम, दार्जिलिङबाटसमेत नेपाली पर्यटक आउने र बास बस्ने गरेको सञ्चालक उतीम लाल चौधरी बताउँछन् ।

बयल गाडासफारीका लागि हाल एक दर्जन बयलगाडा प्रयोग सुरु गरिएको होमस्टे सञ्चालकहरु बताउँछन् । उनीहरूका अनुसार पाँच वटा घरबासमा दैनिक ५० देखि सयसम्मको हाराहारीमा पर्यटक बास बस्ने गरेका छन् । होमस्टे सञ्चालनमा रु चार करोडभन्दा बढी लगानी भएको र हाल दैनिक रु ५० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको छ ।