गौशालामा जीपको ठक्करबाट सडक व्यापारीको मृत्यु



काठमाडौं । गौशालाको पिङ्गलास्थानमा जीपको ठक्करबाट एक जना सडक व्यापारीको मृत्यु भएको छ । बिहीबार साँझ फुटपाथ पसल उठाएर निस्किँदै गर्दा बा ९ च २११५ नम्बरको जीपले ठक्कर दिँदा झापाको विर्तामोड–२ स्थायी घर भएका रमिला बजगाईंको मृत्यु भएको हो ।

उनको परिवारले भने सुरुमा घाइते भएकी बजगाईंलाई जीपले पछाडि सारेर फेरि ठक्कर दिएको दाबी गरेको छ । पीडित पक्ष र जीप सञ्चालकबीच प्रहरी वृत्त, गौशालामा छलफल भइरहेको छ । ठक्कर दिने जीप विमानस्थलको फोहोर बोक्ने जीप भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले भने ब्रेक फेल भएर जीप दुर्घटना भएको बताए । उनले भने, ‘पानी परेको बेला थियो, ब्रेकफेल भएर बागमती पुलको ओरोलोमा दुर्घटना भएको हो । यसबारे गौशाला प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।