कांग्रेस महासमितिमा पेश भएका प्रतिवेदनमाथि चार समुहमा प्रदेशगत छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि बुधबार छलफल हुने भएको छ । त्यसको लागि महासमिति प्रतिनिधिलाई प्रदेशगतरूपमा विभिन्न चार समूहमा विभाजन गरिने बताइएको छ । 

गोदावरी सम्मेलन केन्द्रको विभिन्न हलमा प्रदेशगतरूपमा छलफल हुने गरि तयारी गरिएको छ । गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, विशंखु नारायण हलमा मधेस र कर्णली, फुलचोकी हलमा बागमती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्ताव मागि सुझाव दिन बैठक छलफल गर्नेछन् ।


त्यस्तै केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन् ।

सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी र श्याम घिमिरेले  लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गरेका छन् ।