कञ्चनपुर । दशकअघि साइकल गुडाउँदै अरुका लागि दूध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताएका थिएनन्।
अरुको डेरीमा दूध बोकेर कामको अनुभव बटुल्दै गएका रानाले परिश्रमको केही कमाइ बचत गर्दै गए। बचत रकमले डेरी व्यवसाय सञ्चालन गर्न सक्षम बनेको उनको भनाइ थियो। ‘दूध बोक्ने काम गर्दा आउने केही रकम बचत गरेको थिएँ’, उनले भने, ‘केही रकम कर्जाका रुपमा लिएर डेरी व्यवसाय सञ्चालन गर्दै आएको छु।’
६ वर्षअघिदेखि रानाले ४५ लाख रूपैयाँ लगानी गरी डेरी सञ्चालन गरेका हुन्। गाउँगाउँबाट दूध संकलन गरेर रानाले दुग्ध विकास संस्थानको धनगढी वितरण आयोजनालाई आपूर्ति गर्दै आएका छन्। दूध संकलनका लागि उनले संस्थानसँग सम्झौता गरेका छन्। दूध बोक्नका लागि रानाले ६ जना कामदार राखेका छन्।
‘सबै जनाका लागि मोटरसाइकल खरिद गरेको छु। दैनिक एक हजार चार सय लिटर दूध मोटरसाइकलमा क्यान राखेर कामदारले गाउँगाउँ पुगेर संकलन गर्दै आएका छन्’, रानाले भने। दूध बढी संकलन भएका बेला डेरीसम्म ल्याउनका लागि पिकअप भ्यानको प्रयोग गर्दै आएको उनले बताए। भ्यान आफ्नै स्वामित्वको हो। मोटरसाइकल, भ्यान लगायतका साधन दूध डेरीबाट आएको आम्दानीले खरिद गरेको रानाले जानकारी दिए।
बेरोजगार हुँदा डेढ दशकअघि साइकलमा भारतबाट सामानको ज्याला लिएर झलारी बजारका व्यापारीलाई बिक्री गर्ने गरेको रानाले बताए। ‘भारतबाट सामान ल्याउँदा हुने सास्ती बिर्सिनसक्नु थियो’, उनले भने, ‘सीमा क्षेत्रमा भारतीय र नेपाली प्रहरीले भन्सार काटे/नकाटेकोदेखि अन्य धेरै हैरानी दिन्थे। पछि त्यो काम छोडेर दूध बोक्ने काम थालेको थिएँ।’
आफन्तले दूध बोक्ने काम गर्न भनेपछि त्यही काम थालेको भन्दै पहिलो पटक चार लिटरबाट सुरु गरेको कामले अहिले व्यावसायी बनाएको रानाले बताए। ‘बिस्तारै दूध बढी संकलन हुन थाल्यो। महिनामा २५ हजार रूपैयाँजति कमाइ हुन थाल्यो’, उनले भने, ‘त्यसपछि मोटरसाइकल किनेँ, दूध डेरीमा आपूर्ति गर्न थालेँ।’
‘दूध संकलन गर्ने, भण्डारण गर्ने, अन्य क्षेत्रमा आपूर्ति गर्ने कुरा डेरी सञ्चालकबाटै सिकेँ’ रानाले भने, ‘त्यसपछि केही रकम आफूसँगै थियो, केही कर्जा गरेर शान्ति दुग्ध संकलन केन्द्र हुँदै डेरी खोलेँ।’ उनका अनुसार अहिले डेरीमा दैनिक एक हजार चार सय लिटरसम्म दूध संकलन हुने गरेको छ।
महिनामा २७ लाख रूपैयाँ बराबरको दूधको कारोबार हुने गरेको रानाले जानकारी दिए। ‘संकलन भएको दूधमध्ये आठ सय लिटर दूध संस्थानले खरिद गर्ने गरेको छ। अरु दूध गाउँमै खपत हुन्छ’, उनले भने।
रानाले गाउँबाट दूध प्रतिलिटर ६६ रूपैयाँमा खरिद गरी संस्थानलाई त्यतिकै मूल्यमा बिक्री गर्छन्। संस्थानले ट्रान्सफर खर्च (टिएस) बापत प्रतिलिटर रानालाई तीन रूपैयाँका दरले भुक्तानी गर्दछ। स्थानीयलाई भने रानाले संकलन भएको दूध प्रतिलिटर ७० रूपैयाँमा बिक्री गर्छन्। महिनामा खर्च कटाएर रानाको ५० हजार रूपैयाँ बढी आम्दानी हुने गरेको छ।
कामदारलाई मासिक रुपमा ज्यालाबापत एक लाख २५ हजार रूपैयाँ खर्च हुने गरेको रानाको भनाइ थियो। दूधकै कारोबार गरेर रानाले गाउँमै पाँच कोठाको पक्की घर बनाएका छन्। डेरीका लागि तीन वटा डि फ्रिज, एक हजार र पाँच सय लिटर क्षमताका गरी दुई चिलिमभ्याट मेसिन खरिद गगरेको उनले बताए। दूधबाट क्रिम निकाल्ने मिल्क सेप्रेटिङ मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो।
‘पूरै परिवारको खर्च दूधको बारोबारबाट धानिएको छ’, रानाले भने, ‘अहिले छोराले व्यवसायमा सहयोग गर्न थालेपछि कमाइ बढ्दै गएको छ।’ दूधको व्यवसायबाट सन्तुष्ट भएको भन्दै उनले डेरीमा दूध संकलन गरी बेच्ने काम मात्रै हुँदै आएकामा भविष्यमा डेरी प्रोडक्ट उत्पादन गरी बजार विस्तार गर्ने सोच रहेको बताए।
‘अरुका लागि साइकलमा दूध बोक्ने मैले डेरी सञ्चालन गरी प्रशस्त आम्दानी गर्छु भन्ने सोचेकै थिएन’, रानाले भने, ‘काम गर्दै गए सफलता आफैँ हात चुम्न आइपुग्यो। अहिले दूधको व्यवसायी भनेर नगरपालिका क्षेत्रमा सबैले चिन्छन्, सम्मान गर्छन्।’