काठमाडौँ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो ।
वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको बीचबाट २ खण्ड बनाइएको छ ।
हरेक खण्ड (कोठा) १.५ क्युविक मिटर क्षमताका छन् । ती कोठाको पछाडि र बीचमा गरी २ वटा ढोका छन् । यसमध्ये बीचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ । बाहिरबाट हेर्दा गाडी २ रङ्गको देखिन्छ । कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ भने नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ्ग राखिएको छ । श्रेष्ठका अनुसार कुहिने फोहोर संकलन हुने कोठामा करिब १ हजार ५ सय किलो फोहोर संकलन गर्न सकिन्छ । नकुहिने फोहोरको आकार ठूलो देखिए पनि तौल कम हुन सक्छ । त्यसैले यसमा चाहिँ सामानको प्रकृति हेरेर मात्र तौल अनुमान गर्न सकिन्छ ।
वडा नम्बर २७ बाट फोहोर वर्गीकरण नमूना कार्यक्रम चलाइने
फोहोर वर्गीकरणको नमूना कार्यक्रम वडा नम्बर २७ बाट कार्यान्वयन गर्ने तयारी थालिएको छ । यस क्रममा शनिबार सचेतनामूलक र्याली निकालियो । वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका सदस्य तथा पदाधिकारी, कर्मचारी, स्थानीय क्लव तथा टोल सुधार समितिका पदाधिकारीसहितको र्यालीले कमलाछी, असन, तँलाछि, ज्याथा, ठमेल, जमल, ग्वसिँफलगायतका स्थानमा पुगेर घरदैलो कार्यक्रम गरिएको थियो । यस क्रममा भेटिएका स्थानीयले महानगरपालिकाको कार्यक्रमको प्रशंसा गर्दै आफूहरुले छुट््याएर मात्र फोहोर बाहिर निकाल्ने दायित्व पूरा गर्ने बताएका छन् ।
यो वडाको जनसंख्या ५ हजार हो । यहाँ १ हजार ४ सय घरधुरी छन् । आवासीय र व्यापारिक क्षेत्र भएकोले कुहिने र नकुहिने दुवै प्रकारको फोहोर उत्पादन हुन्छ ।
आउँदो एक हप्ता वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र छुट्याइएको फोहोरको नमूना संकलन गर्ने अभ्यास गरिनेछ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइनेछ । यो वडाको कार्यक्रम सफल बनाएर वडा नम्बर १२, ५, ६ लगायत वडामा विस्तार गर्दै लगिने विभागले योजना बनाएको छ ।
के हो फोहोर वर्गीकरण ?
भान्छामा कुहिने र नकुहिने गरी २ खालको फोहोर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाडाँमा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ । तरकारी (साग सब्जी), बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हुन् ।
यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरु, फलाम आदि नकुहिने फोहोर हुन् ।
यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ । विभागले हरेक घर दैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरणको प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्याङ्कनको योजना बनाइरहेको छ ।