काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।
संसदको सार्वजनिक लेखा समितिले मंगलबार विगतमा दिएको निर्देशनमा के भइरहेको भनेर अख्तियार प्रमुख राईसँग छलफल गरेको थियो ।
उनले भने, ‘‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो, हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्याएर लैजान हुँदैन ।’
तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बास्कोटाले राजीनामा दिएका थिए ।
प्रमुख आयुक्त राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार पनि विदेशमा हुने गरेको पनि बताए । उनले भने, ‘करप्सनको क्षेत्र नेपालभित्र होइन बाहिर गएर डिलिङ हुन थालेको छ, ती देशबाट सूचना प्राप्त गर्न समस्या छ ।’
नेपालले अरु देशहरुसँग पारस्परिक कानुनी सहायतासम्बन्धी द्विपक्षीय समझदारी नगरेकाले अहिले ती देशका निकायहरुले सूचना दिन अस्वीकार गरेको प्रमुख आयुक्त राईले बताए । नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदसम्बन्धी कतिपय सूचनाहरु अरु देशका निकायहरुसँग लिनुपर्ने देखिएको तर पारस्परिक कानुनी सहायतासम्बन्धी समझदारी नहुँदा लिन नसकेको उनको भनाइ छ ।
उनले भने, ‘वाइवडबडी खरिदको सम्वन्धमा अनुसन्धान गरिरहेका छौं, करिब करिब अन्तिम चरणमा पुर्याएका छौं । अनुसन्धानकै विषय भएकाले त्यो भन्दा बढी भन्दिन, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना संकलन गर्नुपर्ने अवस्था हो । तर अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना ल्याउन धेरै कठिनाइ छ ।’
प्रमुख आयुक्त राईका अनुसार धेरै निकायमा सूचना लिन पत्राचार गरे पनि देशहरुबीच द्विपक्षीय समझदारी नभएको कारण देखाएर सूचना दिन अस्वीकार गरेका छन् ।