हाम्रा मतदातालाई कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्छौंः महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कार्यकर्ताले रुख चिन्हमै मतदान गर्ने कुरा सुनिश्चित गर्ने बताएका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने बताएका हुन् ।

उनले भविष्यमा हुने निर्वाचनमा कांग्रेस एक्लै लड्ने सुनिश्चित गरिने बताए । उनले प्रस्ताव पेश गर्दै भनेका छन्, ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं । हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।’


महामन्त्री थापाले आफ्नो प्रस्तावमा गठबन्धन नगर्ने प्रस्ताव राखेपछि देउवाले थापालाई रोक्न खोजेका थिए । तर सोमबार रातिसम्म भएको छलफलपछि प्रस्तावमा देउवाले सहमति जनाएका थिए ।