स्थानीय कृषि उत्पादन किन्दै सहकारी



महोत्तरी । उत्पादित फसल बेच्न बजारबजार दौडनु नपरेपछि महोत्तरीको भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन् । यहाँ उत्पादित ओल र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि बजारीकरणको समस्या समाधान भएको हो ।

भङ्गाहा–४ रामनगरस्थित गढीमाई कृषि सहकारी संस्थाले चलनचल्तीको मूल्यमा पालिका र आसपासका किसानका ओल र मसला किन्दै आएको छ । “उत्पादन राम्रो गराउन थप मेहनत गर्नुपर्ने भएको छ”, किसान राजकुमार दासले भने, “अहिले फसल बेच्न बजारबजार दौडनु पर्दैन । संस्थाले ओल र मसला किन्न थालेपछि बजारको चिन्ता हटेको छ ।”


तराईको विशेष तरकारी मानिने ओल र बेसार, खोर्सानी एवं अदुवा मिसाएर बनाइएको मसला सहकारी संस्थाले किन्न थालेपछि किसान बिक्रीको कुराबाट ढुक्क भएका हुन् ।

बर्दिबास–७ का रामउद्गार महतोले भने, “पहिलेपहिले ओल खेती गरेपछि बजारको चिन्ता हुन्थ्यो, अब ढुक्क छौँ ।” संस्थाले आफ्नो बस्तीसँगै जोडिएका बर्दिबास–७ र ९, तथा धनुषाको बटेश्वर गाउँपालिकाका खोरिया, भूचक्रपुर र राजसखुवासम्मका किसानका ओल र मसला उत्पादन किन्ने गरेको छ ।

संस्थाले तरकारी, अचार बनाइने ओल र मसला जातिका अदुवा, बेसार र खोर्सानी किन्न थालेपछि भङ्गाहा, बर्दिबास, प्रेमनगर, बटेश्वरलगायत स्थानका किसानलाई बजारको चिन्ता हटेको छ । “अघिअघि ओल, अदुवा बेच्न टाढाटाढाको बजार गइन्थ्यो । अहिले गढीमाई सहकारीले किन्न थालेपछि धेरै सजिलो भएको छ”, प्रेमनगरका ओल किसान सुफल महतोले भने ।

“हर्दी (बेसार), खोर्सानी र अदुवा हाम्रो यताका मुख्य मसला खेती हुन् । यी सबै संस्थाले किन्छ”, पशुपतिनगरकी पारोवती महतोले भने, “संस्थाले किन्न थालेपछि ढुक्क भएका छौँ । आम्दानी पनि प्रशस्त हुन थालेको छ । रकम एकमुष्ट पाइने भएपछि गरगहना जोरजाम र अन्य महत्वपूर्ण गर्जो टार्न पाइएको छ ।”

संस्थाले बीउ वृद्धि र बाहिरी बजारको आपूर्ति गर्न थालेपछि स्थानीय उत्पादन किन्न थालेको जनाएको छ । अहिले दैनिकजसो नै ओल र मसला तौलाउन किसान आउने गरेका संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताए । उनका अनुसार गत असोजयतादेखि संस्थाले करिब १० लाखभन्दा बढीको उक्त उत्पादन किनेर मुलुकका विभिन्न स्थानमा पठाएको छ ।

यहाँको ओल बीउका लागि सूदुरपश्चिमको डडेलधुरासम्म पु¥याइएको अध्यक्ष यादवले जानकारी दिए । “अहिले अन्य जिल्लाका कृषि सहकारीले ओल, बेसार र अदुवा माग्ने गरेका छन्”, उनले भने, “यस वर्ष हालसम्म पूर्वको कोशी र पश्चिमको कञ्चनपुर, कैलाली र डडेलधुरासम्म दुई सय क्विन्टलभन्दा बढी ओल पठाएका छौँ ।”

संस्थाको आफ्नै कार्यालय भवन र सुरक्षित भण्डार कक्ष भएकाले किनिएका सामग्री सुरक्षित भण्डारण गरेर मागअनुसार अन्यत्र पठाइने गरिएको यादवको भनाइ थियो ।

गढीमाई कृषि सहकारी संस्थाले स्थानीय उत्पादन किन्न थालेपछि उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि ज्ञानकेन्द्र महोत्तरीले जनाएको छ । महोत्तरीका भङ्गाहा, बर्दिबास र गौशाला नगरक्षेत्र ओल र मसलाखेतीको उर्वर क्षेत्र मानिन्छ ।