काठमाडौं । अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनले १५ हजार नेपाली रुसी सेनामा भर्ती भएको जनाएको छ ।
आइतबार रिपोर्ट प्रकाशित गर्दै सीएनएनले रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको जनाएको हो । सुगम पोखरेल, म्याथ्यु चान्स, मिहिर मेलवानी र निशान्त खनालको ‘बाइलाइन’ रहेको रिपोर्टमा विभिन्न स्रोतहरुले १५ हजार नेपाली रुसी सेनामा कार्यरत रहेको भनी उल्लेख गरेको जनाइएको छ ।
रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने जानकारी लिन रुसी विदेश मन्त्रालयमा सम्पर्क गर्दा कुनै प्रतिक्रिया नआएको सीएनएनले जनाएको छ ।
रुसले विदेशी सैनिकलाई भर्ती गर्नका लागि आकर्षक योजना अघि सारेसँगै ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती हुन त्यसतर्फ लागेको बताइएको छ । रुसले अघि सारेको योजनामा प्रतिमहिना २ हजार डलर तलब, छोटो समयमै रुसी पासपोर्टको व्यवस्थाजस्ता कारण र नेपालमा रहेको चरम गरिबी, बेरोजगारीजस्ता कारणले पनि नेपालीहरु रुसी सेनामा भर्ना हुने गरेका छन् ।
रुसी सेनामा कार्यरत रही स्वदेश फर्केका नेपाली युवा र रुसी सेनामा भर्ती भएका नेपालीका परिवार तथा आफन्तहरुसँगको कुराकानीका आधारमा सीएनएनले उक्त रिपोर्ट प्रकाशित गरेको हो । सीएनएनको समाचारमा रुसी सेनामा कार्यरत रही स्वदेश फर्केका नेपाली युवाहरुले आफूहरुलाई छोटो समयको तालिमलगत्तै युद्धमोर्चामा खटाइएको र आफूहरुले युद्धको भीषण अनुभव गरेको सुनाएका छन् ।
रुसी सेनामा कार्यरत रहेका १३ जना नेपालीको युद्धभूमिमा मृत्यु भइसकेको सरकारी भनाइ छ । यद्यपि वास्तविक संख्या अझै धेरै रहेको हुनसक्ने अधिकारकर्मीहरु बताउँछन् । त्यसबाहेक परराष्ट्र मन्त्रालयका अनुसार चार जना नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको नियन्त्रणमा छन् ।