सरकारमा कांग्रेसकै मन्त्रीहरुको भूमिका प्रभावकारी देखिएनः महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको सफलता/असफलतासँग कांग्रेसको छवि गाँसिएको बताएका छन् । महामन्त्री शर्माले पार्टीको महासमिति बैठकमा पेश गरेको समसामयिक राजनैतिक प्रस्तावमा उनले कांग्रेका केही मन्त्रीहरुको भूमिका सन्तोषजनक नरहेको भन्दै उनले यस्तो बताएका हुन् ।

‘वर्तमान सरकारको सफलता असफलतासँग कांग्रेसको पनि छवि गाँसिएको छ । सरकारले गर्ने राम्रा कामको जस लिन नसक्ने तर अपजसहरुको भारी बोक्नुपर्ने ? भन्ने प्रश्न र असन्तुष्टि कांग्रेस पार्टी पंक्तिमा देखिन्छ । पुरै पाँच बर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ ।’ उनले राजनीतिक प्रस्तावमा भनेका छन्, ‘तर, अर्कोतर्फ छ नागरिकको अपेक्षा अनुरुप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ । कांग्रेसका केहि मन्त्रीको कार्यसम्पादन संतोषजनक निश्चयनै छ । तर, केहि मन्त्रीको भुमिका मन्त्रीका रुपमा प्रभावकारी विल्कुलै देखिएको छैन ।’


सरकारमा सहभागिताको बर्ष दिन पुग्नै लाग्दा सरकारको प्रभावकारिता र कमजोरीबारे खुलेर छलफल गर्नुपर्ने उनले उल्लेख गरेका छन् । कांग्रेसका मन्त्रीहरुले सम्हालेको मन्त्रालयको प्रगति र कमजोरीको समिक्षा गर्नेबेला भएको उनको ठहर छ ।

वर्तमान सरकारमार्फत संविधान रक्षाको साझा कार्यभार सम्पादन भएको उनको दाबी छ । भ्रष्टाचार नियन्त्रण गर्न केही पहलकदमी अपर्याप्त भएपनि सुशासनको दिशामा केही प्रयास भइरहेको देखिएको उनको दाबी छ । महामन्त्री शर्माले जटिल मोडमा पुग्दै गरेको अर्थतन्त्र क्रमशः सम्हालिंदै सुधारोन्मुख दिशामा गएको बताएका छन् । तरपनि, वर्तमान सरकारले नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न र गठबन्धनमै आबद्ध पार्टीका साथीहरूमा भरपर्दो विश्वास जगाउन नसकेको उनको निश्कर्ष छ ।

संघीयताको मर्म अनुरुप प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउन निर्माण गर्नुपर्ने केही महत्वपूर्ण कानुन निर्माणमा गर्नै नहुने ढिलाइ संघीय सरकारबाट भएको उनले उल्लेख गरेका छन् ।