काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन् ।
उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उनले मन्त्रालयहरूलाई निर्देशन दिए । “बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ । व्यवस्थालाई बलियो बनाउनुपर्छ ।”
बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्ने गरी अगाडि बढ्नुपर्ने बताए । उनले भने, “विगतमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच केही अन्योलता देखिने गरेको थियो, अब त्यसो हुनहुँदैन ।”
पछिल्लो समय देशको अर्थतन्त्र सही बाटोमा आगाडि बढेको प्रधानमन्त्री प्रचण्डको दाबी छ । “निरन्तरको प्रयासपछि राजस्व सङ्कलन बढेको छ भने अर्थतन्त्रका बाह्य सूचकहरू राम्रा भएका छन्,”– उनले भने ।
पुँजीगत खर्च बढ्न नसक्नुका कारण पहिल्याएर आगामी दिनमा वित्तीय एवं मौद्रिक नीति तय हुनुपर्ने प्रचण्डले बताए । राष्ट्रिय महत्व र प्राथमिकतामा आधारमा बजेट बनाउन उनले निर्देशन दिए । ‘पुँजीगत खर्च किन बढ्न सकेको छैन, त्यसको गम्भीर समीक्षा गरौँ र बजेट बनाऔँ,’– उनले भने ।