काठमाडौं । नेकपा माओवादी केन्द्रको कोशी प्रदेश कमिटीका कोषाध्यक्ष रेवतराज पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको छ ।
विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार उनकासाथै उनकी श्रीमती केशावती पुरीले चार करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । सजाय निर्धारणका लागि फागुन ६ गते पेशी तोकिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुरीसमेत ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो ।
उनका आफन्त मनमाया पुरी र देवकुमार पुरीले सफाइ पाएका छन् । पुरी गतवर्ष सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख) मा माओवादीबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए। उनी एमालेका होमबहादुर थापाबाट पराजित भएका थिए ।