संविधान र व्यवस्थाका विरुद्धमा संसद्मा बोल्ने छुट कसैलाई पनि छैनः महेन्द्र बहादुर शाही



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले संसद्भित्र संविधान र व्यवस्थाको विरुद्धमा बोल्ने अधिकार कसैलाई नरहेको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रहेर यही व्यवस्था विरुद्ध बोल्ने छुट कसैलाई नरहेको बताएका हुन् । उनले दुई तिहाई बहुमत ल्याएर व्यवस्था परिवर्तन गर्न पाइने अधिकार संविधानले सुनिश्चित गरेको भन्दै यही व्यस्थामा रहेर भने यसको विरुद्धमा संसद्मा बोल्न नपाइने बताए ।


साथै, उनले १० वर्षीय जनयुद्ध र १९ दिने जनआन्दोलनका बारेमा अबमूल्यान र अपव्याख्या गर्ने गरी संसद्मा आइरहेका अभिव्यक्तिहरु आफूहरुलाई स्वीकार्य नरहेको बताए ।

‘यो संसद्भित्र संविधानका विरुद्धमा बोल्ने अधिकार कसैलाई छैन । व्यवस्थाका विरुद्धमा पनि बोल्ने अधिकार हामी कसैलाई छैन, यहाँ हामी नबोलौं । हामीलाई थाहा छ, आफ्ना विषय जनतामाझ राखेर दुई तिहाई बहुमत प्राप्त गरेर व्यवस्थाका बारेमा सोच्न सक्छौं । यही व्यवस्थाभित्र रहेर यही व्यवस्थाका विरुद्धमा बोल्नु र अझै १० वर्षीय महान जनयुद्ध र १९ दिने महान जनआन्दोलनका बारेमा अबमूल्यान र अपव्याख्या गर्ने कुरा जाहेज छैन,’– उनले भने ।

जनयुद्ध र १९ दिने जनआन्दोलनकै कारण सबै जाति, लिङ्ग, वर्ग, क्षेत्रको समानुपातिक सहभागितासहित अहिलेको सदन बनेको उनको दाबी छ । उनले सबै सांसदहरुलाई आ–आफ्नो ठाउँबाट जवाफदेही र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे । राजनीतिक अस्थिरताका कारण देशको हरेक क्षेत्र प्रभावित भएको उनले बताए ।