शान्ति मिसनमा ६ हजार २४७ नेपाली सुरक्षाकर्मी परिचालित, ७३ जनाले ज्यान गुमाए



काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा गएका ७३ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । नेपाल शान्ति मिसनमा सहभागी भएको ६६ वर्षमा विभिन्न मिसनमा खटिएका ७३ सुरक्षाकर्मीले ज्यान गुमाएका हुन् । साथै ६८ जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय तथ्यांकअनुसार हाल संख्या ६ हजार दुई सय ४७ जना नेपाली सुरक्षाकर्मी विभिन्न मिसनमा परिचालित छन ।
नेपालले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई शान्ति मिसनमा पठाएको छ ।


विभिन्न मिसनमा नेपाली सेनाका मात्रै पाँच हजार आठ सय ८५ जना परिचालित छन् । यीमध्ये ६ सय आठजना महिला सुरक्षाकर्मी छन् । १२ मिसनमा नेपाली सैनिक कार्यरत छन्  । नेपाली सेनाका अनुसार हालसम्म राष्ट्रसंघीय छातामुनि ४४ शान्ति स्थापक मिसनमा एक लाख ४९ हजार आठ सय ९० सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले काम गरेका छन् ।

नेपाल सन् १९५५ मा राष्ट्रसंघको सदस्य भएको थियो । १९५८ देखि नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा पर्यवेक्षक पठाएर पहिलोपटक सहभागी भएको थियो । सेनाले सन् १९७३ देखि इजरायल र इजिप्टको सीमा साइनाईमा फौज पठाएको थियो । त्यहाँ खटिएको पुरानो गोरख गण नै शान्ति स्थापक मिसन नै नेपालको पहिलो फौजी मिसन हो ।

नेपालले प्रतयेक वर्ष शान्ति मिसनमा १० हजार सेना पठाउँदै आएको छ । सन् २०२८ सम्म मिसनमा फौजी महिलाहरूको संख्या १५ प्रतिशत तथा सैन्य पर्यवेक्षक तथा स्टाफ अफिसरको संख्या २५ प्रतिशत पु¥याउने लक्ष्य राष्ट्रसंघले लिएको छ ।

पछिल्लोपटक पश्चिम अफ्रिकाको मालीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसन (युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेसन मिसन इन माली) १५ पुसपछि बन्द भएको छ । तर, त्यहाँबाट १६ जना नेपाली सैनिक फर्किन बाँकी छन् । शान्ति स्थापक मिसनबाट बंगलादेशका १७ सय फिर्ता भएका छन् ।

सेनाका अनुसार हाल परिचालित नेपाली सेनाका जनशक्तिमध्ये संयुक्त राष्ट्रसंघको मुख्यालयमा ६ जना, माली मिसनमा १६ जना, कंगोमा ११५४ जना, दक्षिण सुडानमा १७४२, लेबनानमा ८७३ जना, सिरिया (गोलान हाइट्स)मा ४१६ जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा १२४१ जना खटिएका छन् ।

यसैगरी, इराकमा ८८, लिबियामा २३५, इजरायलमा ३ जना, यमनमा २ जना, अबेई सुडानमा १०४ जना र पेस्टर्नसहारामा पाँचजना सैनिक पनि कार्यरत छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई सय चालीसभन्दा बढी शान्ति फौज कार्यरत छन् ।