वीरगञ्जको तनाव हटाउनेबारे सर्वदलीय छलफल सकियो, यस्ता छन् ५ बुँदे सहमति



काठमाडौं । पर्साको वीरगञ्जमा सोमबारबाट जारी कफ्र्यू ओदश हटाउनेबारे छलपलका लागि बसेको सर्वदलीय बैठक सकिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको समन्वयमा बसेको सबै राजनीतिक दलहरुको सर्वदलीय भेलाले ५ बुँदे सहमति गरेको छ ।


सर्वदलीय बैठकले सयौं वर्ष देखि कायम रहेको जात जाती, भाषा, धर्म, समुदाय सम्प्रदाय बीचको एकतालाई अझ मजबुत गराई नेपाली जनताबीचको सुसम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामुहिक प्रतिवद्धता गर्ने सहमति गरेको छ ।

एकअर्काको आस्थाको केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिक स्थलहरुमा नाराबाजी, जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने । यस किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने, जिल्ला भित्र खुलम खुला रुपमा डिजे बजाउने र चकों माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राके जुलुश निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानून बमोजिम कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने, जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव विगार्ने एवं द्वन्दलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरु, धार्मिक सम्प्रदायिक न्याली, जुलुश बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरु कुनै पनि संघ, संस्था एवं समुदायले नगर्ने ।

यसमा सबै राजनितिक दल, स्थानीय तह, नागरिक समाज, संघ, संस्था एवं सरोकारवालाहरुले सहयोग गर्ने र सामाजिक संजालमा कुनै पनि जात, धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनबाट कानून बमोजिम कडा कारवाही गर्ने विषयमा सहमित भएको पर्सा प्रशासनले जनाएको छ ।

सर्वदलीय बैठकमा सांसद प्रदीप यादव, बीरगन्जका मेयर राजेशमान सिंह, मुस्लिम अगुवाहरू शशी कपुर मियाँ, तबरेज अहम्मद, जफर अन्सारी लगायत प्रहरी प्रमुख, सशस्त्र प्रमुख तथा सबै राजनीतिक दलका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

शुक्रबार रौतहटको इशनाथ नगरपालिका सरस्वती पूजाको मुर्ति विर्सजनबारे हिन्दू र मुस्लिम समूदायबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो । झडपपछि अवस्था थप बिग्रन नदिन इशनाथमा कफ्र्यू जारी भएको छ । भने सोमबार छिमेकी जिल्ला पर्सामा पनि प्रदर्शन भएपछि प्रशासनले साँझ ५ बजेदेखि कफ्र्यू लगाएको छ ।

sahamati letter pic