रास्वपाको सुझावपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने– सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले यो समस्या छिटो टुंग्याउन आफू लागेको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।’


गत महिना रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेर प्रतिवेदन बनाएको हो । विज्ञहरु र सहकारी पीडितहरुसँग सघन अन्तरक्रियासमेत गरेर प्रतिवेदन तयार पारेको रास्वपाले जनाएको छ । प्रधानमन्त्रीसँग भेटमा रास्वपाको टोलीले सहकारीबाट लाखौं बचतकर्ताहरू ठगिएकाले सरकारले कदम चाल्न आग्रह गरेको छ ।