राष्ट्र बैंकमा ‘नीतिगत भ्रष्टाचार’विरुद्धको रिटमा आज सुनुवाइ



काठमाडौं । नेपाल राष्ट्र बैकको सवारी निजी बनाउने गरी ‘नीतिगत भ्रष्टाचार’ गरेको भन्दै गभर्नर, दुई डेपुटी गभर्नर र १८ जना कार्यकारी निर्देशकलाई दिइएको गैरकानुनी सुविधा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक सञ्चालक समिति, गभर्नर, डेपुटी गभर्नरहरू र कार्यकारी निर्देशकलाई विपक्षी बनाइएको निवेदन पत्रमा माग गरे बमोजिम अन्तरिम आदेश जारी गर्ने या नगर्ने भन्ने भन्ने निष्कर्षमा निवेदक र विपक्षीलाई अदालतले झिकाएको निवेदक अधिवक्ता भरत कार्कीले जानकारी दिए ।


अधिवक्ता कुमार मगर र कार्कीले संयुक्त रूपमा दर्ता गरेको निवेदनमा गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई नेपाल राष्ट्र बैंक ऐन र खरिद ऐन विपरीत सवारी साधनको सुविधा दिने गरी कार्यान्वयनमा ल्याइएको कार्यविधि खारेज गर्न माग गरिएको छ ।

सो कार्यविधि खारेजीका लागि दायर निवेदन पत्रमा आन्तरिक आदेशसहित परमादेशलगायतका आदेश वा पुर्जी जारी गरी पाउन माग गरिएको छ ।